हाम्रो पार्टीको औद्योगिक नीति सरल र पारदर्शी हुनेछ र यसको उद्येश्य उद्योगीहरूलाई सुविधा, सुरक्षा र सम्मान प्रदान गरी देशका सम्पूर्ण काम गर्न योग्य र काम खोजेका व्यक्तिहरूलाई रोजगार प्रदान गर्नु हुनेछ।

१. देशमा उद्यमशीलताको प्रबर्धन गर्नका लागि कम्पनी ऐन र औद्योगिक कर नीतिलाई सरल र पारदर्शी बनाइने छ। कम्पनी दर्ताको लागि चाहिने अनावश्यक झन्झट हटाएर बढीमा १ घन्टामा कम्पनी दर्ता गर्न सक्ने वातावरणको सिर्जना गरिनेछ। सरकर र उद्योगीहरूका बिच विश्वास र आपसी सम्मानको वातावरण बनाइने छ।

२. देशका विभिन्न क्षेत्रमा मौलिक आविष्कारहरूलाई प्रोत्साहन दिन कम्पनी ऐनमा परिवर्तन गरिनेछ। देशका नयाँ विचार भएका उद्यमशील मानिसहरूको लागि उद्योग सुरु गर्न चाहिने पुँजी उपलब्ध हुने वातावरण सिर्जना गरिने छ। यसको फलस्वरूप देशमा नयाँ उद्योगहरू फस्टाउने छ र रोजगारी सिर्जना हुनेछ।

३. हरित उद्योग र दिगो कृषि विकासमा जोड दिइनेछ।

४. सरकार र निजी व्यवसायी बिचमा हुने कारोबारको लागि गुणस्तरको मापदन्ड तोकिने छ र सख्त रूपमा लागू गरिने छ।

५. विकासका लागि चाहिने पूर्वाधारहरू (सडक, पानी र इन्धन) सरकारी र निजी साझेदारी मोडेलको प्रयोग गरेर उपलब्ध गराइने छ।

६. हस्तशिल्प, पर्यटन र सूचना प्रविधि जस्ता निर्यातमुलक व्यवसायहरूलाई विशेष सहुलियत दिई प्रोत्साहित गरिनेछ।

७. सरकारको स्वामित्वमा रही घाटामा रहेका सबै व्यवसायहरूलाई निजिकरण गरिनेछ।