वर्षौँ देखि ओझेलमा परेर बसेका र आर्थिक स्तरमा सबभन्दा तल परेका नेपालीहरूलाई वैज्ञानिक आरक्षण प्रणाली लागु गरि माथि उकास्नु पर्छ भन्ने हाम्रो पार्टीको मान्यता छ। हाम्रो सामाजिक नीति सारांश यस प्रकार रहने छ।

१. जुनसुकै जात, धर्म र क्षेत्रका नेपाली भए पनि आर्थिक अवस्थालाई ध्यानमा राखेर आरक्षण प्रदान गरिने छ।

२. सबै भाषा, धर्म र जातलाई समान मान्यता र इज्जत दिई युगौँ युग सम्म नेपालको विविधतालाई र मौलिकतालाई जगेर्ना गरेर राखिने छ।

३. सरकारी र गैर सरकारी निकायमा उमेर, लिङ्ग, जात र धर्मका आधारमा हुने भेदभावलाई रोक्न र अनुगमन गर्न हाम्रो पार्टीको सरकारले संविधानको परिधि भित्र रहेर केन्द्रीय स्तरमा स्वतन्त्र प्राधिकरण गठन गर्ने छ।

४. शिक्षा नै गरिबी हटाउने मात्र उपाय हो भन्ने मान्यतालाई ध्यानमा राख्दै हाम्रो पार्टीको सरकारले गरिब परिवारका बच्चा बच्चीहरूलाई निःशुल्क १२ कक्षा सम्मको पढाइमा अनिवार्य रुपमा सामेल गराउन राष्ट्रिय अभियान सुरु गर्ने छ।

५. सामाजिक सद्‌भावमा आँच आउने वक्तव्यबाजी र गतिविधि गर्नेलाई सख्त सजाय दिन संविधानको मर्यादा अनुसार कानुन बनाइने छ।

हामी विश्वास गर्छौँ अनेकता नै एकताको आधार हो। तसर्थ समाजका अनेक भाषिक, सांस्कृतिक, धार्मिक र क्षेत्रीय विविधता ससम्मान जोगाएर राख्नु नै हाम्रो उद्देश्य हुनेछ।