हाम्रो पार्टीको घोषणा पत्र


प्रारम्भ
राष्ट्र नागरिकहरुको आत्मा हो । राष्ट्र कमजोर हुनु नागरिकहरुको आत्मबल कमजोर भएकाले हो । आदि समयदेखि अस्तित्वमा रहेको दिव्य भूमि नेपाल आधुनिक राजनैतिक परिभाषामा यतिवेला कमजोर राष्ट्रको दर्जामा छ । नेपालको लामो इतिहासको विभिन्न कालखण्डहरुमा यो अत्यन्त प्रभावशाली राष्ट्र रह्यो । जब राणा शासनको पतनको समय आयो ठीक त्यही बेला नेपाल कमजोर हुन पुग्यो । त्यस बेला नेपालका शासक र सचेत जनमानसले छिमेकीको शरण परेर देशमा प्रजातन्त्र ल्याए । नेपालको मियो त्यही बेला डगमगायो । जे भयो, त्यस बेलाका लागि त्यो उत्कृष्ठ कदम मानियो तर नेपाली राजनितिले परदेश आफ्नो राजनितिमा छिरेको सुईंको पाएन । त्यसबेलाको नेतृत्वहरु इमान्दार भएपनि उनिहरुले इमान्दार राजनीति गर्न पाएनन् । त्यसपछिका अनेक संवेदनशिल घडीहरुमा नेपाली नेतृत्वहरु परदेशिका कृपाका लागि धाए अनि फरकफरक अभ्यासहरु गर्दै गए । उतिबेला स्वदेशको समस्या स्वदेशमै सल्ट्याउन सकेको भए जाति हुन्थ्यो । तर त्यसो हुन सकेन । परिस्थितिले जन्माएको नेता हुनाले त्यस्तो कुनै राष्ट्रवादी चेतना उनीहरुमा आउन सकेन । शक्तिका लागिनै लडिरहने उनिहरुको आदत र चरित्र बन्न पुग्यो । यहि लडाईंले आजसम्म नेपाललाई अस्थिर बनाइरह्यो । १० वर्षको जनयुद्धले नेपालले सत्रु र मित्र छुट्याउने चेतना गुमाउन पुग्यो । फलतः शान्ति प्रक्रियाको बाटोमा हिँडिरहेको नेपालले पाएका राजनीतिक उपलब्धिहरु देशलाई सम्बृद्ध बनाउने भन्दा पनि खोक्रो र कमजोर पार्ने सम्भावना अधिक राख्दछन् । परदेशी दवदवा अनि मानसिकतामा बनेका नियम कानुनहरु देशबासीहरुलाई एक सुत्रमा बाँध्ने भन्दा लडाउने तर्फ संकेत गर्दछन् ।
जनाधिकार प्राप्त ठूला राजनीतिक दलहरु भन्दछन् आउँदो चुनावले देशको लामो राजनीतिक संक्रमण कालको अन्त्य गर्दछ । तर त्यो सत्य होइन । मुख्य संक्रमण काल अव सुरु हुदैछ । कुनै राजनीतिक दुर्घटना भएन भए यो संक्रमणकाल ५ वर्षसम्म टिक्ने छ । त्यही संक्रमणकालले नेपाली राजनीतिको कदमको तय गर्नेछ । यतिबेला जनआन्दोलनले फालेको राजतन्त्रले मुख खोलेको छ तर यही परिस्थितिमा यसको नेपाली राजनीतिले संम्बोधन गर्न सक्दैन । अवको पाँच वर्षपछि भने त्यो बोलीको ठूलै राजनीतिक मुल्य हुन पनि सक्नेछ । ठूला राजनीतिको दलहरुको वेश्या चरित्रले गर्दा पनि नेपाली जनताले आफ्नो भविष्यलाई खाडी मुलुकमा श्रम गर्न र युरोपेली अमेरिकाली राष्ट्रहरुमा हिम्मत हार्नका लागि पठाउनु पर्‍यो।
असिमित सम्भावन युक्त र विश्व राजनीतिको मुल शिक्षण केन्द्र बन्नु पर्ने यो देश राजनीतिक अदुरदर्शिता र अकर्मण्यताले गर्दा झन झन कमजोर बन्दै छ । लोभि पापी नेता अनी सबैलाई राजनीतिमा होम्ने खराब चरित्रका संयन्त्रहरुले नेपालमा थुप्रै विदेशी निकायहरु र तिनका स्वार्थहरुलाई भित्र्याइसकेका छन् । ति निकायहरु स्वदेशी भन्दा बलिया बनेर नेपालमा रजाईँ गरिरहेको टुलुटुलु हेरेर बस्ने बाहेक अरु कुनै काम यो लामो अवधिमा हुन सकेन । सचेत नागरिक समुहमा यसले एउटा आगोको रुप लिएको छ । राम्रा कदमहरु पनि यदा कदा देखिएका छन् तर आगोको कुनै विवेक हुँदैन त्यसले अगाडी जे आए पनि डढाईदिन्छ । सो यहि परिस्थितिबाट हामीले राजनीतिक अभ्यास आरम्भ गरेका छौँ । हामी सनातन संस्कृतिका पक्षमा छौँ । जीवन र प्रकृतिका विच निकटता स्थापित गर्दै आधुनिक समाजमा व्यप्त हत्या, हिंसा, नरसंहार, द्धेष, घृणा, अत्याचार अनि षडयन्त्रलाई निस्तेज पार्न सक्ने सभ्य समाज निर्माण गर्दै त्यही समाजबाट सभ्य अनि सु–संस्कृत नेतृत्व हुँदै राजनेताको परिकल्पनामा हामी कार्य गर्न चाहन्छौँ ।
यति वेला देशले राजनेता मागेको छ । देशले कहिल्यै रगत माग्दैन, शहिद अनि बलिदान माग्दैन तर अविवेकी अकर्मण्य अनि क्रुर मानसिकताको नेतृत्वले मात्र जनतालाई राजनीतिको नाममा बलिवेदीमा हवन गर्दछ । नेपाल विश्वमा शान्तिको सन्देश दिएको देश हो । फेरी पनि हामी त्यही सन्देश फैलाउन सक्दछौँ । सबै सम्भावनालाई शान्तिको मार्गबाट प्राप्त गर्न सकिन्छ । सबैमा मानविय भावना र प्रेम जगाउन सक्ने राजनेता आजको नेपालको मात्र नभई विश्वको आवश्यकता हो ।
शान्तिको मार्गबाट समस्याहरुको समाधान देख्नेहरु आउनुस् सबै मिलि सभ्य राजनीति अँगालौँ । घमण्ड, द्धेष र षडयन्त्र पुर्ण होइन प्रेम पुर्ण प्रतिष्पर्धा गरौँ । शान्तिको मार्गबाट नेपाललाई गन्तव्य, समृद्धिमा पुर्याऔ।
धन्यवाद । नमस्कार ।

हाम्रो पार्टीको घोषणा पत्र
१. गरिबी निर्मुलन : हाम्रो सरकारले बृहत् रूपमा सुरक्षा, शिक्षा, बाटो र बिजुलीको विकासमा प्राथमिकता दिएर सर्वसाधारण जनतालाई स–साना उद्योगधन्दा खोल्न प्रोत्साहन दिँदै “आफ्नो रोजगारी आफै सिर्जना गरौँ र सके अर्को एकजना नेपालीलाई पनि जागिर दिऔँ” भन्ने अवधारणालाई आत्मसाथ गर्नेछ । हामी विश्वास गर्छौँ उद्योगी व्यावसायीहरूले नै यो देशको बेरोजगारी समस्या समाधान गरेर गरिबी हटाउन सक्छन् । यहीनै हाम्रो उत्पादनबाद हो । सरकारको काम विकासको लागि चाहिने पूर्वाधार तयार पार्नु हुनेछ । सानो नै किन नहोस आफ्नो रोजगारी आफै सिर्जना गर्नेलाई हाम्रो सरकारले उद्यमशील मैत्री कर र उद्योग नीतिद्वारा सहयोग गर्नेछ ।

२. भ्रष्टाचार निर्मुलन : हाम्रो पार्टीको धारणा छ भ्रष्टाचारको मूल कारण देशमा व्याप्त गरिबी, अशिक्षा, कानुनी अपारदर्शिता ( कसैले नबुझ्ने सय ठाउँमा टालेको र जेलेको कानुन ) र स्वतन्त्र भ्रष्टाचार नियन्त्रक ( लोकपाल) को अभाव हो । हाम्रो पार्टीले राज्यका सबै तहमा स्वतन्त्र लोकपालीय संरचना खडा गर्न संवैधानिक संशोधन गर्नेछ । त्यसपछि कानुन सरलीकरण लगायतका कामहरूलाई क्रमश अगाडी बढाइनेछ । सरकारी संयन्त्रलाई सकेसम्म चुस्त र पारदर्शी गराईनेछ । कानुनको व्याख्या गलत गरेर सरकारी कर्मचारीहरुले सोझा जनतालाई ठग्न पाउने छैनन् । हाम्रो मान्यता छ भ्रष्ट्राचारीको सम्पत्ति लिलाम गरेर निजलाई जेल चलान गर्ने चुस्त पारदर्शी कानुन हुनुपर्छ । भ्रष्टाचारको आरोप लागेर सजाय पाएकाले जिन्दगीभरी राजनीति र सरकारी काममा हिस्सा लिन पाउने छैनन् ।

३. अशिक्षा निर्मुलन : पुर्विय दर्शनको जगमा ठडिएको यो देशको शिक्षालाई पश्चिमीकरण गरिंदै लगिएकोमा हाम्रो घोर आपत्ति छ । हामी यसलाई पुनः यहि दिशामा फर्काउन चाहान्छौं । योग शिक्षा, पर्यटन शिक्षा तथा नैतिक शिक्षालाई पाठ्यक्रममा मुख्य मान्यता दिंदै नेपालको गरिमा, गौरवहरु एवं प्रतिकहरु जस्तै गौतम बुद्ध, बालागुरु षडानन्द, अरनिको इत्यादिलाई पाठ्क्रममा मुख्य महत्वका साथ राखिनेछ । देशका सम्पूर्ण बालबालिकाहरूलाई सरकारले १२ कक्षा सम्मको शिक्षा बिना शुल्क उपलब्ध गराउनु पर्छ भन्ने हाम्रो पार्टीको मान्यता छ । तर हामीलाई यो पनि थाहा छ कि सरकारले हजारौँ विद्यालय र त्यसमा काम गर्ने कर्मचारी र शिक्षकहरूलाई राम्ररी सञ्चालन गर्न सक्दैन भनेर । हाम्रो पार्टीको मान्यता छ कि सरकारले प्रति विद्यार्थी वार्षिक बजेट निर्धारण गरी सो रकम निजी उद्यमीहरूले दिनु पर्नेछ र यसरी सरकारी पैसाबाट सञ्चालन हुने विद्यालयलाई “चार्टर” विद्यालय भनिने छ । उदाहरण स्वरूप सरकारले एउटा विद्यार्थी पढाउन वार्षिक रु २५ हजार खर्च गर्छ भने त्यो रकम निजी क्षेत्रका विद्यालयलाई दिन सकिन्छ र सो विद्यार्थीलाई निजी विद्यालयमा पठाउन सकिन्छ । चार्टर विद्यालयले अवलम्बन गर्नु पर्ने मापदण्ड सरकारले निर्णय गर्नेछ । चार्टर विद्यालयहरु निजी विद्यालय जस्तै सञ्चालन हुने छन् तर विद्यार्थीहरूले निःशुल्क पढ्न पाउने छन् किन कि यी विद्यालयमा पढ्ने विद्यार्थीहरूको शुल्क सरकारले बेहोर्ने छ । चार्टर विद्यालय मोडल अनुसार सरकारले निजी स्वामित्वका विद्यालयहरू खोल्न र सरकारी मापदण्ड अनुसार सञ्चालन गर्न प्रोत्साहन दिनेछ । यस मोडल अनुसार देश भर निजी विद्यालयहरू खुल्ने छन् र विद्यार्थीहरू भर्ती हुने छन् । चार्टर विद्यालयले लिने शुल्क सरकारले निर्णय गर्छ । सरकारलाई आफ्नो स्वामित्वमा विद्यालय सञ्चालन गर्नु भन्दा निजी स्वामित्वको चार्टर विद्यालयमा विद्यार्थी पठाउन आर्थिक भार कम पर्नेछ र शिक्षाको स्तर समेत सरकारी विद्यालयमा भन्दा चार्टर विद्यालयमा निकै राम्रो हुनेछ । यस मोडलबाट देशको शिक्षा क्षेत्रमा उद्यमशीलताको मुहान फुट्नेछ । देश भर तीन किसिमका विद्यालय हुनेछन् :सरकारी, चार्टर र निजी । चार्टर मोडलबाट देश भरका विद्यार्थीहरूलाई विद्यालय उपलब्ध गराउन सम्भव छ । हाम्रो पार्टीलाई पूर्ण विश्वास छ यस मोडलले नेपालबाट अशिक्षाको निर्मुल पार्नेछ ।

४. बेरोजगार निर्मुलन : सबभन्दा पहिला नेपालमा युगौँ देखि व्याप्त सोचाई जो सरकारले सबै जनतालाई काम र माम दिन्छ भन्नेछ बदल्नु पर्छ । सरकारको लागि जनताले हैन कि सरकारले जनताको लागि काम गर्नु पर्छ ।
बेरोजगारीलाई निमिट्यान्न पार्न हाम्रो पार्टीले नेपाल सरकारलाई यस्तो बाटोमा हिँडाउने छ ।

क. देशमा उद्यमशीलताको मूल फुटाउन प्रचलित कानुनलाई सरलीकरण गरी साना, ठुला, स्वदेशी र विदेशी सबै उद्यमीहरूलाई नेपालमा लगानी गर्न उत्साहित गर्ने।

ख. उद्योगलाई चाहिने पूर्वाधारहरू (बाटो , बिजुली र पानी ) उपलब्ध गराउन सकारले यी सबै क्षेत्रमा निजी व्यवसायीलाई लगानी गर्न अत्यधिक सजिलो बनाउनेछ ।

ग. उद्योग व्यवसाय चलाउन शिक्षित र तालिम प्राप्त जनशक्तिको आवश्यक पर्ने हुनाले हाम्रो पार्टीको सरकारले सकेसम्म निजी क्षेत्रसँग साझेदारी गरी उपयोगी शिक्षाको विकासमा जोड दिने छ ।
हाम्रो पार्टीको विश्वास छ कि काम गर्नेलाई प्रोतसाहन दिने कानुन, उद्योगको लागि चाहिने पूर्वाधार र सिपमुलक शिक्षाको वातावरण सिर्जना भए पश्चात् देशमा बेरोजगारीको समस्या बिस्तारै हट्दै जान्छ ।

५. कर्मचारी, विद्यार्थी तथा व्यावसायी सङ्गठन निर्मुलन : नेपालका सरकारी र अर्धसरकारी सङ्गठनका कर्मचारीहरू उनीहरूको आफ्नै कारणले बदनाम भएका छन् । कर्मचारी, विद्यार्थी तथा व्यावसायीहरु विभिन्न संगठन खोलेर राजनीतिक पार्टीहरूमा बाँडिएका छन् । कर्मचारीहरू आफ्ना आफ्ना पार्टीका नेताहरूको व्यक्तिगत हितमा लागेको भेटिन्छन् । यी कर्मचारीहरू जनहितमा नभएर पार्टीगत हितमा लागेर साधारण जनतालाई नचाहिँदा दुःख दिएर घुस नखाई सिन्को पनि भाँच्दैनन् भन्ने कुरा बारम्बार सुन्न पाइन्छ । देशको बृहत्तर विकासमा यस क्रियाकलापले धेरै दुःख दिएको छ ।
कर्मचारीतन्त्रलाई सुधार्न हाम्रो पार्टीले निम्न कार्य गर्नेछ :

क. सरकारी तथा अर्धसरकारी संस्थाका कर्मचारीहरूलाई सङ्गठन खोल्न नदिन कानुनमा परिवर्तन गरिनेछ ।

ख. कानुनद्वारा भ्रष्ट ठहरिएका कर्मचारीको सर्वस्वहरण गरेर उनीहरूलाई जन्म कैद सम्म राख्न पाउने कानुन बनाइने छ ।

ग. जनताले भ्रष्ट कर्मचारीको बारेमा सोझै लोकपालको कार्यालयमा रिपोर्ट गर्न पाउने व्यवस्था गरिनेछ ।
सरकारी निकायबाट भ्रष्टाचार नहटेसम्म देशमा सानो भन्दा सानो परिवर्तन पनि आउँदैन भन्ने हाम्रो पार्टीको मान्यता छ र निजामती कर्मचारी सुद्धिकरण अभियानले बागमती सुद्धिकरण भन्दा पहिलो प्राथमिकता पाउनेछ ।

६. स्वास्थ्य कार्यक्रम : कुपोषण, दुर्पोषण, खराब पानी र दुषित बाताबरण देशमा ब्याप्त रोगका कारण हुन् । हाम्रो सरकारले देशमा ब्याप्त स्वास्थ्य समस्या हल गर्न निम्न योजना कार्यन्वयनमा ल्याउने छ ।

क. देशका अति निम्न आयका गरीव परिवारलाई रासनको कुपन प्रदान गरिने छ । जसबाट सके सम्म निशुल्क र नसके अति कम मुल्यमा रासन प्रदान गरिने छ ।

ख. देशमा आयात हुने र देश भित्रै उत्पादन हुने समेतका निम्न गुणस्तरका “प्याकेज फूड“ हरु बजारबाट हटाइने छ । सबै भन्दा बढि रोग रसायनिक पदार्थ मिश्रित खानाले भित्र्याउँछ ।

ग. पानीबाट सयौं रोग फैलिन्छ र उब्जिन्छ । हाम्रो सरकारको उच्चतम प्राथमिकता शुद्ध पानी जनतालाई उपलब्ध गराउने हुनेछ ।

घ. वातावरण फोहोर मैला हुनाले अनेक रोगका प्रकोप बढ्छ । गाउँ र शहरको वातावरण स्वच्छ राख्न हाम्रो सरकारले फोहोर मैलाको ब्यबस्थापन, आधुनिक ढल निकाशको व्यवस्था तथा अधिकतम बृक्षारोपणलाई प्राथमिकता दिने छ।

ङ. बृद्धाबस्था र दुर्घटनाबाट हुने रोग र अवस्थाको उपचारको लागि देश भर सके निशुल्क र नसके अति सहुलियतमा स्वास्थ्य सेवा उपलब्ध गराउने हाम्रो सरकारको पहिलो प्राथमिकता हुने छ ।

७. शान्ति र सुरक्षा : मानिस मानिस बीचको भेदभाव र गरिवी नै शान्तिको मार्गमा मुख्य बाधक हो भन्ने हाम्रो पार्टीको मान्यता छ । समाजमा ब्याप्त छुवाछुत र जातीय विभेदलाई निर्मुल पार्न हाम्रो पार्टी को सरकारले उपयोगी कानुन ल्याउनेछ । राष्ट्र भनेको भुगोल मात्र होइन । भुगोल, जनसंख्या, इतिहास, धर्म र संस्कृति पनि हो त्यसैले नेपालको सनातन संस्कृतिलाई संरक्षण र प्रवर्द्धन गरिने छ । धर्म निरपेक्षता को मुद्दा लाई जनमतसंग्रहमा लगेर मात्र टुङ्ग्याइने छ । हाम्रो सरकारले सम्पूर्ण जनतालाई डिजिटल चिप्स जडित राष्ट्रिय परिचय पत्र वितरण गर्ने छ, जसमा व्यक्तिगत विवरणका अलावा सम्पति, शिक्षा, आय व्यय तथा आवश्यक अन्य विवरणहरु राखिने छ । जसबाट वास्तविक आर्थिक अवस्थाको पहिचान गरी गरिवीको रेखामुनी रहेका जनतालाई विशेष कार्यक्रमहरु लागु गरेर आर्थिक हैसियतलाई माथि उकासिने छ ।

८. देशको सार्बभौमिकता रक्षा : हाम्रो पार्टी ले छिमेकी मित्र रास्ट्रहरु संग समान र सन्तुलित पररास्ट्र नीति अबलम्बन गर्ने छ । चिन र भारत दुवै तर्फका नाकाहरु व्यवस्थित गरी खुला सिमाहरु बन्द गरिनेछ । आवत जावतमा प्रवेशाज्ञा अनिवार्य गर्ने छ । अन्य देशको तुलनामा सो प्रवेशाज्ञा सरल र छरितो हुनेछ ।