हाम्रो पार्टीको
विधान – २०७२

प्रस्तावना

मुलुकको सेवा र जनताको हित सम्बर्धनप्रति कटिबद्ध भई नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता र राष्ट्रिय अखण्डताको संरक्षण, सम्बर्धन र रक्षा गर्दै नागरिकको जीवन, आत्मसम्मान, स्वतन्त्रता, सुरक्षा र सम्बृद्धि सम्बन्धी अधिकारलाई व्यवहारमा स्थापित गर्न, लोकतान्त्रिक संविधान, कानुनी राज र आर्थिक विकासको स्थापनाको लागि प्रतिबद्ध रहँदै, राष्ट्रियता र लोकतन्त्रको संरक्षण र सम्बर्धन गर्दै नेपाललाई सभ्य र सम्पन्न राष्ट्रका रूपमा स्थापित गरी सामाजिक, राजनैतिक र आर्थिक विकास गर्ने उद्देश्यले हाम्रो पार्टीको विधान २०७२ जारी भएको घोषणा गर्दछौँ।

परिच्छेद – १
प्रारम्भिक

१. नाम र प्रारम्भ

(क) यस बिधानको नाम “हाम्रो पार्टीको बिधान २०७२”(२०७४ मा सम्सोधन र परिमार्जन गरिएको) भनिनेछ।
(ख) यो विधान तुरुन्त प्रारम्भ हुनेछ।
(ग) यस विधानको पालना गर्नु प्रत्येक सदस्यको कर्तव्य हुनेछ।
(घ) हाम्रो पार्टीको सम्पूर्ण काम कारबाही यसै विधानमा लेखिए बमोजिम हुनेछ।

२. परिभाषा

(क) “पार्टी” भन्नाले हाम्रो पार्टीलाई सम्झनु पर्दछ।
(ख) “विधान” भन्नाले हाम्रो पार्टीको विधानलाई सम्झनु पर्दछ।
(ग) “पदाधिकारी” भन्नाले हाम्रो पार्टीको केन्द्रीय अध्यक्ष, उपाध्यक्ष, महासचिव र कोषाध्यक्षलाई बुझाउने छ।
(घ)“केन्द्रीय सदस्य” भन्नाले केन्द्रमा निर्वाचित, मनोनीत सदस्य समेतलाई जनाउने छ।
(ङ) “क्षेत्र” भन्नाले मतदान केन्द्र, नगर वडा, गाउँ, नगर, संसदीय क्षेत्र र प्रदेश क्षेत्र भन्ने बुझिन्छ।
(च) “पार्टीका सांसद” भन्नाले प्रतिनिधि सभा र राष्ट्रिय सभामा पार्टीका तर्फबाट उम्मेदवार भई  निर्वाचित
सदस्य तथा कानुन बमोजिम मनोनीत तथा पार्टीमा समावेश हुन आएका अन्य सदस्य समेतलाई
बुझाउनेछ।
(छ) “नियमावली” भन्नाले यस बिधान बमोजिम केन्द्रिय कार्यसमितिले बनाएको नियमावालीलाई बुज्नपर्छ|
(ज) “निकाय” भन्नाले यस विधान अनुरूप व्यवस्थित कुनै पनि तह, विभाग वा संस्थाहरू समेतलाई
बुझाउनेछ।
(झ) “बर्गिय सङ्ठन” भन्नाले हाम्रो पार्टीको उद्धेश्य र सिद्धान्तलाई मान्ने र अन्य रचनात्मक
क्रियाकलापमा संलग्न सङ्घ, संस्थालाई बुझाउनेछ।
(ञ) “सदस्य” भन्नाले हाम्रो पार्टीका विभिन्न प्रकारका सदस्यहरूलाई सम्झनु पर्दछ।
(ट) “संसदीय दल” भन्नाले हाम्रो पार्टीको संसदीय दललाई सम्झनु पर्दछ।
(ठ) “तोकिएको वा तोकिए बमोजिम” भन्नाले यस विधान र विधान अन्तर्गत बनेको नियमावलीमा उल्लेख भएको वा केन्द्रीय कार्यसमितिले निर्णय गरी परिपत्र जारी गरेको समेतलाई जनाउने छ।

३. झण्डा

यस पार्टीको झण्डा विधानको अनुसूची १ मा उल्लेख गरिए बमोजिम हुनेछ।

४. पार्टीको छाप र चिन्ह

यस पार्टीको छाप र चिन्ह विधानको अनुसूची २ मा उल्लेख गरिए बमोजिम हुनेछ।

५. केन्द्रीय कार्यालय

हाम्रो पार्टीको केन्द्रीय कार्यालय काठमाडौँ उपत्यकामा रहने छ।

६. पार्टीको उद्देश्य

(क) नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता र राष्ट्रिय अखण्डताको संरक्षण, सम्वर्धन र रक्षा गर्ने।
(ख) गणतन्त्र नेपाललाई संस्थागत गर्दै गणतान्त्रिक संस्कारको विकास गरी सबै जात, धर्म, भाषा र
लिङ्गका नेपालीहरूको सर्वोत्तम जीवनस्तर सुनिश्चित गर्न समर्पित एवं दृढ रहने।
(ग) विविध पृष्ठभूमि, बहुजातीय, बहुधार्मिक, बहुपहिचानका समाजका मानिसहरूलाई नागरिकका रूपमा एकतामा बाँध्दै नेपाली पहिचान प्रति प्रतिबद्ध गराउँदै अघि बढ्न प्रेरित गर्ने।
(घ) नागरिकको जीवन, आत्मसम्मान, स्वतन्त्रता, सुरक्षा र सम्बृद्धी सम्बन्धी अधिकारलाई व्यवहारमा स्थापित गर्न लागि पर्ने।
(ङ) जोखिममा रहेका नागरिक र समुदायलाई सरकारको सहयोगको सुनिश्चिताको माध्यमबाट पारिवारिक उत्तरदायित्व प्रोत्साहित गर्दै निष्पक्ष र न्यायपूर्ण समाजको निर्माण गर्ने।
(च) महिला, दलित, पिछडिएका वर्ग, सिमान्तकृत वर्ग, लोपोन्मुख वर्ग यस्तै अन्य  वर्गको हित र आर्थिक उन्नतिको लागि विशेष तालिम रोजगार आयमूलक कार्यको खोजी गरी आर्थिक स्तर वृद्धि गर्ने।
(छ) देशको सर्वाङ्गिण विकासलाई प्राथमिकता दिइने।

परिच्छेद – २
सदस्यता

७. १८ बर्ष पुगेका जो कोही नेपाली नागरिक हाम्रो पार्टीमा कुनै पनि शुल्क नतिरी सदस्य बन्न सक्ने छ।

परिच्छेद – ३
सांगठनिक स्वरूप

८. हाम्रो पार्टीको केन्द्रीय कार्यसमितिले आवश्यकता अनुसार प्रदेश, संसदीय क्षेत्र, नगरपालिका, गाउँपालिकामा
सङ्गठन विस्तार गर्न सक्नेछ।

८.१ गाउँपालिका कार्यसमिति

आवश्यक परेको खण्डमा हाम्रो पार्टीको केन्द्रीय महाधिवेशनले गाउँपालिका कार्यसमितिको गठन गर्ने छ।

८.२ नगरपालिका कार्यसमिति

आवश्यक परेको खण्डमा हाम्रो पार्टीको केन्द्रीय महाधिवेशनले नगरपालिका  कार्यसमितिको गठन गर्ने छ।

८.३ क्षेत्रीय कार्यसमिति

आवश्यक परेको खण्डमा हाम्रो पार्टीको केन्द्रीय महाधिवेशनले क्षेत्रीय कार्यसमितिको गठन गर्ने छ।

८.४ प्रदेश कार्यसमिति

आवश्यक परेको खण्डमा हाम्रो पार्टीको केन्द्रीय महाधिवेशनले प्रदेश कार्यसमितिको गठन गर्ने छ।

परिच्छेद – ४
केन्द्रीय कार्यसमिति

९. केन्द्रीय कार्यसमिति

(क) केन्द्रीय कार्यसमितिमा अध्यक्ष सहित २१ जना सदस्यहरू हुनेछन्। केन्द्रीय महाधिवेशनले १ जना अध्यक्ष र १३ जना केन्द्रिय समिती सदस्यको निर्वाचन गर्ने छ।
(ख) केन्द्रीय कार्यसमितिको अध्यक्षले वर्ग,जात–जाती, भाषा–भाषी, धर्म, लिङ्ग समेतको प्रतिनिधित्व हुने गरी ७ केन्द्रीय सदस्यहरू मनोनयन गर्ने छ।
(ग) कार्यसमितिका सदस्य मध्येबाट उपाध्यक्ष–१, महासचिव–१, कोषाध्यक्ष–१ को मनोनयन केन्द्रीय अध्यक्षले गर्ने छ।
(घ) पार्टीको केन्द्रीय महाधिवेशन तथा विशेष महाधिवेशनद्वारा लिइएका निर्णयहरू कार्यान्वयन गराउने काम केन्द्रीय कार्यसमितिको हुने छ।
(ङ) हाम्रो पार्टीको विधानको विभिन्न धाराहरूको व्याख्या तथा प्रयोगको कामको अधिकार केन्द्रीय कार्यसमतिको निर्णय अनुसार हुने छ।
(च) केन्द्रीय महाधिवेशनका सदस्यहरूले कुनै किसिमको प्रस्ताव छलफलका लागि बैठकमा ल्याउन चाहेमा महाधिवेशनको बैठक हुनुभन्दा १५ दिन अगाडी केन्द्रीय कार्यसमितिमा पेस गर्नु पर्ने छ ।
केन्द्रीय समितिले उक्त प्रस्ताव समितिमा छलफल हुन आवश्यक ठानेमा प्रस्ताव ल्याउने व्यक्तिलाई प्रस्ताव प्रस्तावित गर्ने समय दिनेछ।
(छ) केन्द्रीय समितिले केन्द्रीय समिति सहित सबै तहका कार्यसमितिको लेखा दुरुस्त राख्नको निम्ति लेखा परीक्षकको नियुक्ति गराउन सक्नेछ।
(ज) केन्द्रीय कार्यसमितिको बैठक कमसेकम २ महिनामा १ पटक बस्न अनिवार्य हुनेछ। बैठक अध्यक्षद्वारा बोलाइनेछ।

परिच्छेद – ५
केन्द्रीय महाधिवेशन

१०. केन्द्रीय महाधिवेशन

हाम्रो पार्टीको केन्द्रीय महाधिवेशनको ढाँचा यस्तो हुनेछ –
(क) १६५ वटा चुनाव क्षेत्रबाट प्रारम्भिक चुनाव जितेका प्रतेक उम्मेद्‍वारले ९ जनाको सङ्ख्याले आआफ्नो
चुनाव क्षेत्रबाट मनोनीत गरेर १६५० जना प्रतिनिधि केन्द्रीय महाधिवेशनमा पठाउने छन्।
(ख) प्रतिनिधि सभा र राष्ट्रिय सभामा रहेका पार्टीका सांसदहरू स्वतः केन्द्रीय महाधिवेशनमा सम्मिलित हुन पाउने छन्।
(ग) हाम्रो पार्टीका मुख्य मन्त्रीहरू जितेका पनि स्वतः केन्द्रीय महाधिवेशनमा प्रतिनिधिका रूपमा सामेल हुन पाउने छन्।
(घ) प्राथमिक चुनाव जितेर आएका १६५ प्रतिनिधि र हाल निर्वाचन जितेर पदमा रहेका बाहेक सम्पूर्ण प्रतिनिधिबाट इच्छुक व्यक्तिहरू पार्टीको अध्यक्ष र ९ जना केन्द्रीय सदस्यको चुनावका लागि
उम्मेद्‍वार बन्ने सक्नेछन् र महाधिवेशन प्रतिनिधिहरूले पार्टीको  केन्द्रीय अध्यक्ष र केन्द्रीय सदस्य चुन्ने छन्।
(ङ) पार्टीका केन्द्रिय सद्स्य र केन्द्रिय पदाधिकारीहरु राजीनामा नदिइकन प्रतीनिधीसभाको चुनावको उम्मेद्‍वार बन्न पाउने छैनन्।
(च) महाधिवेशनका प्रतिनिधिहरूले प्रारम्भिक चुनाव जितेका १६५ जना मध्येबाट एक जनालाई पार्टी नेता चुन्ने छन् र उक्त व्यक्ति आम चुनाव पछि हुने संसदीय बोर्डको प्रस्तावित नेता हुनेछ तर उक्त प्रस्तावित नेताले आफ्नो संसदीय बोर्डको नेताको पदलाई आधिकारिक रूप दिन आफ्नो क्षेत्रबाट आम चुनाव जित्नुपर्नेछ र पार्टीको संसदीय बोर्डबाट पनि चुनिनु पर्ने छ।
(छ) केन्द्रीय कार्यसमितिले महिला, पिछडिएका वर्ग, बुद्धिजीवी, भातृ सङ्गठन,शुभेच्छुक सङ्घ संस्थाबाट सवैको प्रतिनिधित्व हुने गरी २५ जना व्यक्तिलाई महाधिवेशन सदस्य मनोनयन गर्ने छ।
(ज) ५ वर्षमा १ पटक महाधिवेशन हुनेछ । आवश्यक परे सूचना गरी विशेष महाधिवेशन हुनसक्ने छ।
(झ) निर्धारित समयमा केन्द्रीय महाधिवेशन हुन नसकेमा बढीमा ६ महिनाको लागि म्याद थप गर्न सक्ने छ।

परिच्छेद – ६
पदाधिकारी सदस्य नरहने

११. जुनसुकै तहको कार्यसमितिको पदाधिकारी सदस्य नरहने

(क) पदबाट राजीनामा दिई स्वीकृत भएमा।
(ख) मानसिक सन्तुलन ठीक नभएमा।
(ग) नैतिक पतन हुने फौज्दारी अपराध प्रमाणित भएमा।

परिच्छेद – ७
अन्य समिति तथा वर्गीय सङ्गठन

१२. प्रारम्भिक चुनाव समिति

हाम्रो पार्टीको एउटा प्रारम्भिक चुनाव समिति रहने छ । जसको सङ्ख्या ५ हुने छ। पार्टीको केन्द्रीय अध्यक्ष यसको अध्यक्ष र पार्टी महासचिव यसको सचिव हुने छ। ३ जना केन्द्रीय कार्यसमितिले चुन्ने छ। यस समितिले निर्वाचन आयोग तथा स्वतन्त्र निकायहरूसँगको समन्वयमा प्रारम्भिक चुनाव गराउने छ। प्रारम्भिक चुनावबाट चुनिएका पार्टी सदस्यले निर्वाचन प्रतिनिधि हुन पाउने छन् । कुनै पनि उम्मेद्‍वारले एकै पटक २ ठाउँबाट चुनाव लड्न पाउने छैन| स्थानीय, प्रदेश र राष्ट्रिय चुनावका लागि पार्टीको उम्मेद्‍वार चुनावबाट चयन गरिने छ।

१३. वर्गीय सङ्गठन

हाम्रो पार्टीको विधानको अधिनमा रहेर हाम्रो पार्टीको युवा मञ्च, मजदुर मञ्च, उद्योग तथा व्यापार मञ्च, किसान मञ्च, महिला मञ्च, अल्पसंख्यक तथा दलित मञ्च, सांस्कृतिक मञ्च, बुद्धिजीवी मञ्च तथा वर्गीय सङ्गठनहरूको निर्माण गर्न सक्नेछ।

१४. विशेष समिति वा विभाग

विभिन्न अध्ययन, अनुसन्धान, अन्वेषण आदि कार्यद्वारा पार्टीलाई सुझाव दिनको लागि आर्थिक, सामाजिक, सांस्कृतिक, वैदेशिक, महिला, शिक्षा,  सङ्गठन बिस्तार लगायत अन्य विषयसँग सम्बन्धित विशेष समिति वा विभागहरूको गठन कार्यसमितिको परामर्शमा केन्द्रीय अध्यक्षले गर्नेछ। समितिहरू पुर्णरूपमा पार्टी नीतिसँग सम्बन्धित रहनेछन्। अध्यक्षको निर्देशानुसार कार्य हुनेछ। सङ्गठनको स्वरूप अवधि अधिकार कर्तव्य कार्यसमितिको सहमति सहित अध्यक्षले तय गरे अनुसार हुनेछ।

परिच्छेद – ८
पदाधिकारी तथा समितिहरूको काम कर्तव्य र अधिकार

१५. केन्द्रीय अध्यक्षको काम कर्तव्य र अधिकार

(क) महाधिवेशनद्वारा गरिएका निर्णयहरूको कार्यान्वयन तथा पार्टीको सङ्गठन प्रवर्धन,सञ्चालन तथा विस्तार गर्ने कार्य केन्द्रीय अध्यक्षको जिम्मेवारी हुने छ।
(ख) सङ्गठन सञ्चालनमा त्रुटि वा समस्या आएमा समस्याको समाधान गर्ने।
(ग) महाधिवेशन, केन्द्रीय कार्यसमिति तथा अन्य समितिको बैठकको लागि परामर्श तथा निर्देशन दिने।
(घ) पार्टी हितलाई ध्यानमा राखी विषयगत समितिको गठन गर्ने, कार्यसम्पादन समितिमा परामर्श गर्ने र पार्टी हितका बारेमा आवश्यक कार्य गर्ने।
(ङ) अध्यक्षले केन्द्रीय कार्यसमितिको सहमतिमा पार्टीका सबै तहका समितिहरूलाई आवश्यक निर्देशन दिनेछ। पार्टी हित विपरीत काम गर्ने समितिहरूको विघटन तथा पुर्नगठन गर्न सक्नेछ।
(च) संकलित कोषको प्रवन्धको जिम्मेवारी अध्यक्षको हुने छ। पार्टीको हितलाई ध्यानमा  राखी अध्यक्षले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा सम्बन्ध विस्तार गर्ने सक्नेछ।
(छ) यदि कुनै कारणवस केन्द्रीय पदाधिकारीहरूको पद रिक्त भएमा उक्त रिक्त स्थानमा केन्द्रीय अध्यक्षले नयाँ केन्द्रीय सदस्यको परिपुर्ति गर्न सक्नेछ।
(ज) अध्यक्षको कार्यकाल ५ वर्षको हुने छ र एक व्यक्ति एक पटक भन्दा बढी अध्यक्ष हुन सक्ने छैन।

१६. केन्द्रीय कार्यसमितिका अन्य पदाधिकारीहरूको काम, कर्तव्य र अधिकार
१६.१ उपाध्यक्षको काम, कर्तव्य र अधिकार

(क) केन्द्रीय अध्यक्षको अनुपस्थितिमा अध्यक्षले सुम्पेको जिम्मेवारी अनुसार दैनिक कार्य सञ्चालन गर्ने।
(ख) विभिन्न वर्गीय तथा पेशागत समितिहरूसँग पारस्परिक सम्बन्ध र सहयोगको जिम्मेवारी बहन गर्ने। पार्टीको कार्यको अनुगमन गर्ने।

१६.२ महासचिवको काम, कर्तव्य र अधिकार

(क) केन्द्रीय महाधिवेशन, केन्द्रीय कार्यसमितिको निर्णय तथा पार्टी नीतिको निर्देशन कार्यान्वयन गर्ने गराउने।
(ख) केन्द्रीय अध्यक्षको सहमतिमा पार्टी हित विपरीत काम गर्ने कुनै पनि तहका पार्टी समिति विघटन तथा पुर्न गठन गर्ने जस्ता कार्यको साथै तदर्थ समितिको गठन गर्ने।
(ग) पार्टी केन्द्रीय कार्यालय सञ्चालन सम्बन्धी जिम्मेवारी बहन गर्ने।
(घ) पार्टी हितलाई ध्यानमा राखेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा सम्बन्ध विस्तार गर्ने।
(ङ) पार्टी कार्यालयको कामको अभिलेख दुरुस्त राख्ने।

१६.३ कोषाध्यक्षको काम, कर्तव्य र अधिकार

(क) पार्टीको कोषको जिम्मा लिने।
(ख) पार्टीको आर्थिक श्रोत जुटाउने।
(ग) अध्यक्षले कोषको बारेमा दिएको निर्देशन पालन गर्ने।
(घ) कोषाध्यक्ष र अध्यक्षको संयुक्त दस्तखतमा बैँकमा बचत खाता खोली कारोबार बैँक‍ मार्फत गरिने छ।
(ङ) व्यक्ति संस्थाले दिएको रकम बैँकमा जम्मा गर्ने।
(च) कोषको आयव्ययको खाता दुरुस्त राख्ने।
(छ) केन्द्रीय कार्यसमितिले तोकेको लेखा परिक्षकबाट लेखापरीक्षण गराउने।
(ज) कोष सम्बन्धमा केन्द्रीय महाधिवेशनको निर्णय पालना गर्ने।
(झ) खाए मासेको देखिए असुल गर्ने, जिन्सी जिम्मा राख्ने।

१६.४ केन्द्रीय सदस्यको काम, कर्तव्य र अधिकार

(क) निर्णय कार्यान्वयन गराउन सहयोग गर्ने।
(ख) कार्यसमितिले अह्राएको काम गर्ने।
(ग) बैठकमा अनिवार्य उपस्थिति हुने।
(घ) सङ्गठन बिस्तारमा दत्त चित्त रहने।
(ङ) सङ्गठन अनुगमन गरी अध्यक्षलाई राय दिने।

परिच्छेद – ९
अनुशासन र अनुशासन सम्बन्धी कारबाही

१७.१ अनुशासन समिति तथा अनुशासन सम्बन्धी कारबाही

अदालतमा अपराधीको रुपमा दोषी ठहरिएको खन्डमा बाहेक कुनै पनि सदस्यलाई अनुशासनको नाममा पार्टीबाट निष्कासन गरिने छैन। तर केन्द्रिय समिती र पदाधिकारीको हकमा भने यो लागु हुनेछैन | यदी कुनै केन्द्रिय सद्स्य वा पार्टीको केन्द्रिय पदाधिकारीले पार्टीको हित बिरुद्ध गएमा वा पार्टी अनुशासनको पालना नगरेमा दुइ तिहाई केन्द्रिय समितीले लिखित उजुरी दिएमा छान बिन पस्चात दोसी ठहर भएमा तेस्ता केन्द्रिय सद्स्य वा पदाधिकारीको पद मुक्त हुनेछ | यद्दपी स्पस्टिकरणको मौका भने दिइनेछ |

१७.२ ह्विप

केन्द्रीय कार्यसमितिको निर्देशन अनुसार संसदीयदलको नेता र प्रमुख सचेतक सम्मले  चुनिएर गएका प्रतिनिधि सभा र राष्ट्रिय सभाका प्रतिनिधिहरूलाई ह्विप जारी गर्न सक्नेछन् तर ह्विप
मान्न बाध्य हुने छैनन्।

परिच्छेद – १०
विविध

१८. अविश्वासको प्रस्ताव

केन्द्रीय अध्यक्ष बिरुद्ध ५१ प्रतिशत महाधिवेशन सदस्यहरूले लिखित अविश्वासको प्रस्ताव ल्याएमा महासचिवले त्यसको छानविन गरी ६० दिन भित्र महाविधेशनको बैठक बोलाएर समस्याको निराकारण
गर्नेछ। अविश्वास प्रस्ताव पारित हुन ६७ प्रतिशत सदस्य सङ्ख्याको बहुमत आवश्यक हुनेछ। महाधिवेशनको निर्णय अन्तिम हुनेछ।

१९. गणपुरक सङ्ख्या

पार्टीको कुनै पनि तहको गणपुरक सङ्ख्या ५१ प्रतिशत हुनेछ।

२०. सदस्य तथा पदाधिकारीहरू नरहने

(क) राजीनामा दिएमा।
(ख) नैतिक पतन देखिने फौज्दारी अभियोगमा सजाय पाई अन्तिम भएमा ।

२१. अन्य

(क) हाम्रो पार्टीको गठन हुँदाका बखत मनोनीत तथा निर्वाचित भएका केन्द्रीय कार्यसमितिका सदस्यहरू
पार्टी जीवित रहेसम्म हाम्रो पार्टीको सस्थापक सदस्य रहनेछ‍न्।
(ख) केन्द्रीय कार्यसमितिले कार्य सम्पादनको निम्ति विधानको अधिनमा रहेर आवश्यक नियमावली बनाउने छ।
(ग) केन्द्रीय कार्यसमितिको विघटन महाधिवेशनको सर्वसम्मत निर्णयले मात्र गर्नसक्ने छ।
(घ) पार्टी विघटन पश्चात् पार्टीको सम्पत्ति तथा दायित्व प्रचलित कानुन बमोजिम हुनेछ।

२२. व्याख्या गर्ने अधिकार

यस विधानको प्रयोग गर्ने क्रममा कुनै किसिमको द्धिविधा उत्पन्न भई सो को व्याख्या गर्नुपरेमा त्यस्तो व्याख्या गर्ने अन्तिम अधिकार केन्द्रीय कार्यसमितिलाई हुने छ। विधानमा उल्लेख नभएका व्यवस्थाहरू र अन्य कार्यको लागि केन्द्रीय कार्यसमितिले निर्णय गरे बमोजिम, यसै विधान बमोजिम भए गरेको मानिने छ।

२३. विधान संशोधन सम्बन्धि

यस विधान बमोजिम कार्य सम्पादन गर्न कुनै कठिनाइ परेमा केन्द्रीय महाधिवेशनले केन्द्रीय कार्यसमितिको सिफारिसमा विधानमा थपघट संशोधन गरी लागु गर्न सक्नेछ । सो थपघट संशोधनको
जानकारी सम्बन्धित निकायमा दिनुपर्नेछ। महाधिवेशन हुनु पूर्व विधानमा थपघट संशोधन गर्नु परेमा तदर्थ समितिको बहुमत सदस्यको निर्णयले गर्न सक्नेछ।

२४. पार्टी एकता सम्बन्धि

समान बिचार र सिद्धान्त भएका अन्य दलसँग एकता गर्न सकिने छ र यस्तो निर्णय पार्टी केन्द्रीय कार्यसमितिले टुङ्गो लगाउने छ।

२५. आर्थिक सहयोग

हाम्रो पार्टीलाई माया गर्नु हुने शुभचिन्तक राष्ट्रिय / अन्तरराष्ट्रिय संघ सस्था वा बिदेशी सरकार, ब्यक्ती तथा सस्था, नेपाल सरकार, प्रदेश सरकार वा स्थानिय तहको निकाय बाट आबस्यक परेमा सहयोग लिन सक्नेछ ।

अनुसूची – १

यस पार्टीको झण्डा देहाय बमोजिम हुनेछ ।

आयतकार भित्रको बिच भागमा माथि रातो र तल निलो रङ् हुनेछ। माथि रातो भागमा २ वटा हत्केला माथि अर्ध चन्द्र र त्यसको ठिक माथि सुर्य रहनेछ। तल्लो निलो रङ् भित्रको अर्ध गोलाकार वाहिर ३ वटा मानव आक्रिती हुनेछ।

Hamro Party Flag

अनुसूची – २

यस पार्टीको छाप र चिन्ह देहाय बमोजिम हुनेछ ।

गोलाकार भित्रको बिच भागमा माथि रातो र तल निलो रङ् हुनेछ। माथि रातो भागमा २ वटा हत्केला माथि अर्ध चन्द्र र त्यसको ठिक माथि सुर्य रहनेछ। तल्लो निलो भागको अर्ध गोलाकार वाहिर निलो रङसगै ३ वटा मानव आक्रिती हुनेछ। वाहिरबाट एउटा गोलाकारले घेरिनेछ। गोलाकार भित्रको माथिल्लो भागमा हाम्रो पार्टी र तल २०७२ लेखिनेछ।

Hamro Party Logo